रेशम चौधरीको मुद्दा फिर्ता लिने सम्झौतामा के छ ? (पूर्णपाठ)

resham-chaudhary01
लोकपाटी न्यूज

काठमाडौं। सरकार र थरुहट/थारुवान संघर्ष समितिबिच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार टीकापुर घटनाका अभियुक्त रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ। चौधरीको रिहाइको लागि कानूनसम्मत रूपमा पहल गर्ने सहमति भएको छ।

‘थरुहट थारूवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने,’ सहमतिको बुँदा नम्बर एकमा भनिएको छ।

थरुहट थारूवान आन्दोलनका क्रममा शहिद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहिद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेहरूको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बनाउन पनि सहमति भएको छ।

सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ तथा थारु कल्याणकारीसभाका तर्फबाट वार्ता टोली प्रमुख रुक्मिणी चौधरीले हस्ताक्षर गरेका छन्।