एमाले स्थायी समिति बैठक सकियो, के भयो निर्णय ?

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गर्दै सकिएको हो।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको जानकारी दिए। पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादात्म्यता नमिलेको उनको भनाइ छ। पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए।

‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ,’ ज्ञवालीको भनाइ छ। उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो दलका उम्मेदवारलाई हराउन लागिपरेका नेता चाँडै पार्टीमा फर्केर एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

अब पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने ज्ञवालीले बताए। उनले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए। अहिले वार्ता टोली क्रियाशील नरहेको उनले बताए। वार्ता टोलीमा रहेका कतिपय नेता कारबाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए।

बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति, सर्वोच्चमा परेको मुद्दा, आगामी आर्थिक वर्षको बजेट, लुम्बिनीमा भएको राष्ट्रियसभा उपनिर्वाचनमाथि पनि छलफल भएको उनले बताए। त्यस्तै, सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ।

पछिल्ला छलफलले एमाले उम्मेदवार विजयनजिक रहेको आंकलन गरिए पनि त्यस्तो हुन नसकेको र अन्तर्घात गर्नेहरूबारे छलफल हुने पनि उनले बताए। लुम्बिनी प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा एमालेका चन्द्रबहादुर खड्का पराजित भएका थिए।

बैठकले संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठेकोप्रति आपत्ति पनि जनाएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीप्रति प्रश्न उठाएकोप्रति आपत्ति जनाएको हो। यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्ममा असर पुग्ने एमालेको ठहर छ। ‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला आउनुपर्ने भन्दै न्यायपालिकामाथि दिइएको दबाब जायज नभएको पार्टीको निष्कर्ष छ,’ ज्ञवालीले भने।

बैठकमा स्पष्टीकरण सोधेका १२ जना नेतालाई कारबाहीबारे बैठकको एजेन्डा नै नभएको उनले बताए।