काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीका चार जना नेतालाई निष्काशित गरेको छ। जसपाका उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्काशन गरेको हो।
बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्काशन गरेको नेता इस्तियाक राईले जानकारी दिए। निष्कासनमा पर्नेहरूमा अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, सर्वेनन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन्।
‘पार्टीले हिजै निष्काशन गरेको हो। मङ्गलवार हामीले निर्वाचन आयोगमा समेत पत्र पठाएका छौँ,’ नेता राईले भने। योसँगै वर्तमान सरकारमा सहभागी हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको संघार मा पुगेको छ। जसपाले पाँच दिन अघि ती नेताहरूलाई स्पष्टीकरण सोधेको थियो।
तर उनीहरूले स्पष्टीकरण नदिने स्पष्ट पारेका थिए। पार्टी नीति विपरीत काम गरेको आरोप लगाउँदै उपेन्द्र यादव पक्षले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। तर ठाकुर पक्षले पनि यादव पक्षलाई अनुशासन उल्लंघनको आरोप लगाउँदै यादवलाई स्पष्टीकरण सोधेको थियो। यादव समूहले पार्टीको नीति विपरीत केपी ओली सरकारलाई साथ दिनुका साथै राष्ट्रपति कार्यालय, निर्वाचन आयोगलगायतलाई पत्र पठाएको आरोप लगाएको छ।
यादव पक्ष हाल संसद् विघटनको विरुद्धमा उत्रिँदै विपक्षी नेपाली काँग्रेसलगायतका दलको गठबन्धनलाई साथ दिएको छ। तर ठाकुर पक्षले ओलीले संसद् विघटन गर्दै घोषणा गरेको निर्वाचनकालाई स्वागत गरेको छ। यादव समूहको आफूहरूलाई पार्टीबाट निस्काशन गर्ने निर्णयलाई ठाकुर पक्षले कसरी लिन्छ त्यसबारे स्पष्ट भइसकेको छैन।



लोकपाटी न्यूज

