जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ मा विरोध प्रदर्शन गर्ने भएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले मंगलबार प्रदेश २ मा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने भएको हो।
यादवनिकट प्रदेश समिति र जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्ने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको ठहर गर्दै प्रदेशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागिएको समितिका मुख्यसचिव शम्भु झाले जानकारी दिए।
संघर्षका कार्यक्रमबारे आठै जिल्ला समन्वय समितिलाई परिपत्र गरिएको उनले बताए। जसअन्तर्गत आज दिउँसो ३ बजे सबै स्थानीय तहका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाउने, मसाल जुलुस निकाल्नेलगायत गरिनेछ। यसै गरी बुधवार सबै पालिकाका केन्द्र तथा मुख्य सहरहरूमा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको झाले बताए।
संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)बाट निष्कासित माधवकुमार नेपाल पक्षसँग सहकार्य गरी संघर्षका कार्यक्रम गर्न समितिले पत्राचार गरेको छ।



लोकपाटी न्यूज

