धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी ६ मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाही गर्न सिफारिस गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश समितिले उनीहरूलाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको हो।
प्रदेश समितिका सचिव राजेन्द्र रावलले स्पष्टीकरणको जवाफ नआएपछि पार्टीको केन्द्रमा कारबाहीको सिफारिस गरेको जानकारी दिए। पार्टी स्थायी समितिको निर्णय विपरीत शुक्रवार सुदूरपश्चिम सरकारमा सहभागी भएका एमालेका ६ मन्त्री र संसदीय दलका सचेतकलाई एमाले प्रदेश समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो। तर उनीहरूले स्पष्टीकरण नदिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
प्रदेश समिति सचिव रावलले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएको जानकारी दिए।
एमालेको प्रदेश समितिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई पनि साधारण सदस्य नरहने गरी निष्कासन गर्न सिफारिस गरिसकेको छ।
शुक्रवार नियुक्त भएका मन्त्रीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका थिएनन् भने शाह, भट्ट र सुवेदीले स्पष्टीकरण पेस गरे पनि चित्त बुझ्दो नरहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको रावलले बताए। एमालेले प्रदेशसभामा रहेका १० जना सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।
गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकारबाट फिर्ता आउन मन्त्रीहरूलाई निर्देशन दिएको थियो। तर बुधवार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो। शुक्रवार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो।



लोकपाटी न्यूज

