एमालेका मन्त्रीले बुझाएनन् स्पष्टीकरण, अब के होला ?

Supa_mantri
लोकपाटी न्यूज

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी मन्त्रीले अझै स्पष्टीकरण बुझाएका छैनन्। शनिवार एमाले प्रदेश समितिले स्थायी समितिको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै ३ मन्त्री, ३ राज्य मन्त्री र १ सचेतकलाई स्पष्टीकरण सोधेको थियो।

प्रदेश समितिले शनिवार स्पष्टीकरण दिन उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। शुक्रवार मन्त्री भएका ६ जनालाई नै स्पष्टीकरण पेस गर्न भनिएकोमा कसैले पनि स्पष्टीकरण बुझाएका छैनन्।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले उनीहरूले अहिलेसम्म पनि स्पष्टीकरण नबुझाएको बताए। स्पष्टीकरण नदिनेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुन सक्ने बताए। एमालेको स्थायी समितिको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

तर, बुधवार बसेको प्रदेश संसदीय दलको बैठकले भने समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। शुक्रवार सरकारमा रहेका एमालेका ३ जना मन्त्रीले राजीनामा दिएका थिए। आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका थिए।

शुक्रवार नै ७ जना मन्त्री नियुक्त भएका थिए। आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिँदा भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का नियुक्त भएका थिए।

एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो। पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ।