प्रधानमन्त्री निवास बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

Mahanth_Thakur_Rajendra_Mahato
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल गर्न उनीहरू बालुवाटार पुगेका हुन्।

अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ। सरकारमा सहभागी हुनेबारेमा छलफल भइरहेको ओली निकट नेताले बताए। ‘जसपाका नेताहरू आउनु भएको छ। छलफल सरकारमा सहभागी हुने र समसामयिक राजनीतिमा केन्द्रित भएर हुन्छ,’ उनले भने।

एमाले र जसपा नेताबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको जसपाका एक नेताले बताए। जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ। सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन्।

रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैँले राखेका छन्। भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ। नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ।

विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये २० जना ठाकुरको पक्षमा रहेको दाबी गरिएको छ।यसैबिच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्।

पार्टीभित्र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ। अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानु पर्नेमा छ। पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नु पर्नेमा छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारबाहीको चेतावनी दिएका बेला भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ! हात मिलाएर आ-आफ्नो बाटो लागौं! हिडिरहे फेरि भेट हुनेछ!’