पार्टी विवादबारे डा. भट्टराई भनेः तमासा नगरौं, आ-आफ्नो बाटो लागौं

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तानातान र तमासा नगरी हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्। जसपाको विवाद उत्कर्षमा पुगिरहेको र एकले अर्कालाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री केपी ओलीलाई साथ दिने कि उनको विकल्प खोज्ने भन्नेमा जसपा विभाजित छ। पार्टीको महन्थ-राजेन्द्र पक्षले ओलीलाई चट्टानी साथ दिएको छ भने उपेन्द्र-बाबुराम पक्ष जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु पर्ने अडानमा छ।

दुवै पक्ष आ-आफ्नो अडानबाट टसमस नभएपछि पार्टी विभाजनको चरणमा पुगेको छ। दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई पार्टीबाटै निष्काशन गर्ने तयारी गरिरहेका छन्। सोही परिप्रेक्षमा भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ! हात मिलाएर आ-आफ्नो बाटो लागौं! हिँडिरहे फेरि भेट हुनेछ!’