काठमाडौं। आर्थिक वर्ष २०७८/७९ बजेट प्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन्। बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकास्न नसक्ने उनीहरुले बताए।
नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्सका अध्यक्ष अच्यत गुरागाइँले पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नआएको बताए। ‘बजेटले पर्यटन क्षेत्रलाई सम्बोधन गर्न सकेन। बजेटमा ल्याएको नीतिले पर्यटन प्रवर्द्धन पनि गर्न सक्दैन,’ उनले भने। ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका अध्यक्ष खुम सुवेदीले गत वर्षको बजेटले आशा जगाए पनि यो वर्षले भने निराशा थपेको बताए।
ट्रेकिङ उद्योगमा आबद्ध १७ प्रतिशत व्यवसायी र जनशक्ति कोभिडका कारण विस्थापित भइसकेको बताउँदै सेप्टेम्बरमा पनि पर्यटन आउने सम्भावना नरहेकाले ८० प्रतिशत पलायन हुने उनले जिकिर गरे। होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले तत्कालिन राहत खोजेका व्यवसायीलाई सम्बोधन गर्न नसकेको बताए। ‘यो त एउटा काम चलाउ सरकार हो। भोलि चुनाव भयो भने नयाँ सरकार आउला। त्यही भएर हामीले धेरै अपेक्षा गरेका छैनौं,’ उनले भने।



लोकपाटी न्यूज
