काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्ज खेल खेलेको आरोप लगाएका छन्। बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान, न्याय तथा कानुनका विज्ञसँग गरेको परामर्शमा वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेलेको आरोप लगाएका हुन्।
‘संविधान सभाको संविधान कहिल्यै मर्दैन। यो संविधान संविधानसभाले बनाएको हो। अर्को संविधान बन्ने प्रक्रिया छैन,’ उनले भने, ‘संविधानलाई कसैले मार्न सक्दैन। संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन। किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ। अदालतमा निर्लज्ज छ। कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु भएको छ।’
वरिष्ठ अधिवक्ता थापाले संविधानसभाबाट जारी भएको अहिलेको संविधानको आधारभूत संरचना भनेकै संसद् भएको बताए। ‘त्यो संसद् प्रधानमन्त्रीले मार्ने व्यवस्था पनि छैन, राष्ट्रपतिले मार्ने व्यवस्था पनि छैन। त्यस कारण यसमा विवाद गर्नुको आवश्यकता छैन,’ थापाले भने।
उनले कानून मान्नजेति संयम नागरिक र सांसद एकातिर तथा कानून नमान्ने जति सरकारमा भएको टिप्पणी गरे। ‘हामी अहिले कानून मान्ने जति संयम नागरिक छौं, सांसद छौं, कानून नमान्ने जति सरकारमा हुनुहुन्छ, त्यस कारण कानून नमान्नेसँग द्वन्द्व गरेका छैनौं, हामीहरूले अहिले टाउको दुखाइ, द्वन्द्वको अवस्था सिर्जना गरेका छैनौं,’ थापाले भने, ‘तर जनमत आवश्यक पर्यो भने पनि जनमत पनि पुष्टि गर्नु पर्दछ। सारा नागरिक समाजहरू, बुद्धिजीवी संघ, संगठनहरू जानु पर्दछ।’
वरिष्ठ अधिवक्ता थापाले संसद् विघटनको मुद्दामाथि अदालतमा धेरै लामो समयसम्म जोड घटाउ गरिरहनु आवश्यक नभएको पनि बताए। उनले भने, ‘अगाडि दिएको सर्वोच्च अदालतको फैसला बमोजिम पो प्रक्रिया सुरु हुनुपर्छ, अगाडि सर्वोच्च अदालतले भनिसक्या छ, त्यो प्रक्रिया सुरु नभईकनै फेरि संसद् विघटन गरिएको छ, अब सर्वोच्च अदालतले पनि कस्तो प्रकारको प्रधानमन्त्री र कस्तो प्रकारको राष्ट्रपति हुनुहुन्छ भनेर परीक्षण गर्नुपर्ने हुन्छ।’



लोकपाटी न्यूज

