सर्वोच्चले संविधानमाथिको हस्तक्षेपलाई रोक्ने छ : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको बताएका छन्। संविधानको धारा ७६ को ५ अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाए पनि कुनै भेरिफाइ नगरी राष्ट्रपतिले सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको देउवाको भनाइ छ।

‘हामी संविधानको धारा ७६ को ५ अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको हो,’ उनले भने, ‘यो निर्दलीय अभ्यास होइन। संविधानकै धाराअनुसार हो। निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने छ।’

राष्ट्रपतिले सांसदको समर्थन छ कि छैन भन्ने भेरिफाइ नगरेकोमा देउवाले असन्तुष्टिसमेत जनाएका छन्। ‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो। सांसद बोलाएको भए पनि हुन्थ्यो,’ उनले भने, ‘राति विघटन गर्नुभयो। राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको ठाडो उल्लंघन भएको टिप्पणी गरे।

देउवाले सर्वोच्च अदालतले न्याय दिनेमा आफूहरू विश्ववस्त रहेको बताए। उनले संविधानमाथिको हस्तक्षेपलाई अदालतले रोक्ने विश्वास लिए। गत शुक्रबार देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति कार्यालय गएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री दावीसहित गएका थिए। दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको र आफूलाई बहुमत सांसदको समर्थन हुँदा पनि प्रधानमन्त्री नियुक्त नगरेकोमा देउवा सर्वोच्चमा गएका थिए। संविधानमाथि हस्तक्षेप भएको र राजनीतिक संकट आइपरेकोले आफू अदालत गएको देउवाको भनाइ छ।