११ नेतालाई कारबाही गरेको पत्र पठाउने एमालेको तयारी

UML_Office_Thapathali
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायतलाई कारबाही गरेको जानकारी गराउने भएको छ।

गएको आइतबार बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जानकारीसहितको पत्र पठाउन लागिएको एक नेताले जानकारी दिए। त्यस्तै, एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पनि पठाउँदैछ।

एमाले बैठकले खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई पार्टीबाट निष्काशन गर्न निर्णय गरेको थियो।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै र संसद् पुनः स्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। दुवै पत्र आजै बुझाउने एक नेताले जानकारी दिए।