काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दर्ता गरेको छ। बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले खारेज गरिदिएको रिट निवेदकको दाबी छ।
काँग्रेस सभापति देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन्।
विपक्षी गठबन्धनले रिट निवेदनमा प्रधानमन्त्रीका दाबेदार देउवाको पक्षमा बहुमत रहेको दाबी गरेको छ। काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेका २३, जसपाका १२ र जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्। रिट निवेदन दर्ताका लागि विघटित प्रतिनिधिसभाका १४६ सांसदले हस्ताक्षर गरेका थिए। सांसदहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी पनि पेस गरिएको छ।
रिटमा जेठ ७ गते मध्यराति बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको निर्णय खारेजीको माग गरिएको छ। साथै, संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान हुँदा १४९ जना सांसदसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको मागसमेत गरिएको छ।
यी हुन हस्ताक्षर गर्ने सांसदः
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/05/Court_Samsad.pdf”]



लोकपाटी न्यूज

