गोकर्ण विष्टले गरेनन् रिट निवेदनमा हस्ताक्षर

Gokarna Bista-4
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर विपक्षी दलहरूको मोर्चा सर्वोच्च पुग्दैछ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिंहदरबारमा केहीबेर अघि रिटमा हस्ताक्षर गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेको हो। आइतबार रिट तयारी पूरा नभएकोले गठबन्धन अहिले सर्वोच्च जान लागेको हो।

विपक्षी गठबन्धनका नेताहरूले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन्। विपक्षी मोर्चा १४९ सांसदको नागरिकता र हस्ताक्षर लिएर अदालत जाने तयारीमा छ। प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेको छ।

सोही निर्णय अनुसार नेकपा एकालेको माधवकुमार नेपाल पक्षले विपक्षी गठबन्धनलाई सघाएको छ। रिट निवेदनमा हस्ताक्षर गर्न नेपाल पक्षका सांसद सिंहदरबारमा पुगेका छन्। तर, नेपाल पक्षका प्रभावशाली नेता गोकर्ण विष्ट भने अनुपस्थित रहेका छन्। नेपाल पक्षका सांसद झपट रावलले नेता विष्ट बिरामी भएका कारण आज उपस्थित हुन नसकेको प्रतिक्रिया दिए।

रावलले भने, ‘गोकर्णजी बिरामी भएकाले आउन सक्नुभएको छैन। अर्को एक जना साथीलाई पखाल लागेको छ रे!’ अनुपस्थित अर्का सांसदे नेपालको साथ छोडेको अनुमान गरिएको छ। रावलले पनि साथ छाडेको विषयलाई सांकेति रूपमा इंगित गरेका ती सांसदको नाम भन्न चाहेनन्।

त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेको दाबी गरिएको छ। सांसद प्रदीप यादवले आफ्नो पक्षका १२ जनाले उपस्थित भई देउवाको पक्षमा हस्ताक्षर गरेर नागरिकता बुझाएको बताए। उनले भने, ‘हामी १२ जनाले हस्ताक्षर गरेका छौं। अहिले काँग्रेस संसदीय दलको कार्यालयमा छौं। केही बेरमा सर्वोच्च जान्छौं।’

त्यस्तै काँग्रेसका ६१, माओवादी ४८ र जनमोर्चाकी दुर्गा पौडेलले पनि देउवाको पक्षमा हस्ताक्षर गरेकी छन्। रिट निवेदन तयार पार्न संलग्न काँग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभाका १३६ जना चाहिने भए पनि १४९ जना पुगेका छन्।

शुक्रवार देउलाले १४९ जना सांसदको हस्ताक्षरसहित दिएको दाबी र ओलीले १५३ जना सांसदको दाबी पेस गरे पनि राष्ट्रपतिले दुवैलाई अस्वीकार गरी प्रतिनिधिसभा विघटनको बाटो खोलिदिएकी थिइन्।

उक्त निर्णय असंवैधानिक भएको दाबीसहित विपक्षी गठबन्धन बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट निवेदन दिन लागेका हुन्। आइतबार संसद् विघटनविरुद्ध सर्वोच्चमा २५ वटा निवेदन पेस भएको छ।