योगेश भट्टराईको आग्रह: धैर्य गरौं, संवाद गरौं

yogesh-bhattarai
लोकपाटी न्यूज

काठमाडौं। निर्णायक समयमा माधवकुमार नेपालको साथ छोडेको भनिएका नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही र बदलाको राजनीतिले गन्तव्यमा नपुगिने बताएका छन्। एमालेले माधव नेपालसहितका नेताहरूलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईको यस्तो टिप्पणी आएको हो।

उनले कारबाही, प्रतिशोध र बदलाको राजनीति नगर्न आग्रह पनि गरे। उनले नेताहरूलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपछि नेपाल समूहका ११ जना सांसदलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्।

यही विषयतर्फ लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएको छैन र पुर्‍याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौं। धैर्य गरौं, संवाद गरौं।’

भट्टराईले गएको शुक्रवार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। एमाले माधव समूहका २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पनि भट्टराईले नगरेपछि उनले माधव समूहको साथ छाडेको रूपमा अर्थ लगाइएको थियो। तर भट्टराईले आफू ओली समूहमा प्रवेश गरेको पनि बताएका छैनन्।