काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चाले अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा सबैभन्दा महत्त्वपूर्ण भएको जनाएको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार एक विज्ञप्ति जारी गरेर कोरोनाकालमा नागरिकले निर्वाचन नचाहेको बताएका छन्।
‘नेपाली जनता यतिखेर कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेका छन्। अक्सिजन नपाएर, अस्पतालमा भर्ना हुन नपाएर बिमारीहरू छटपटाइरहेका र कतिपयले प्राण त्याग्नु परिरहेको अवस्थामा जीवन रक्षाको विषय सबैभन्दा महत्त्वपूर्ण बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई बेवास्ता गरेर गरिने भनिएको कथित निर्वाचन नेपाली जनतालाई चाहिएको छैन। उनीहरूलाई त उपचार चाहिएको छ, जीवनको सुरक्षा चाहिएको छ। नेपाली जनताको जीवनमाथि गरिएको यति ठूलो खेलबाड र तिरस्कारको जति निन्दा गरे पनि कमै हुन्छ।’
विदेशी प्रतिक्रियावादी शक्तिहरूको सेवाका लागि राष्ट्रिय स्वाधीनतामाथि खेलबाड गर्ने कार्य भएको उनको भनाइ छ। ‘यो षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन। यसका लागि राष्ट्रपति र प्रधानमन्त्रीले जेठ ७ गते मध्यराति चालेको कदम अविलम्ब खारेज गर्न हामी जोडदार माग गर्दछौं,’ गजुरेलले भनेका छन्। यस्तै, दैनिक श्रम गर्ने र निम्न वर्गका नागरिक भोक भोकै मर्ने अवस्था बनेकोले उनीहरूका लागि विशेष राहत प्याकेज ल्याउन पनि माग गरिएको छ।
विज्ञप्ति पढ्नोस्




लोकपाटी न्यूज

