काठमाडौं। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध जतिसुकै मोर्चा कसे पनि त्यसको अर्थ नहुने बताएका छन्। बालुवाटारमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले न्यायलाई मोर्चाले प्रभाव पार्न नसक्ने बताएका हुन्।
‘धैरैले मोर्चा कसेर मुद्दा हाले पनि त्यही हो, सच्चाई सच्चाई नै हो, न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको अर्थ हुन्न, न्यायलाई मोर्चा, प्रचारले प्रभावित गर्न सक्दैन, गर्नुहुन्न,’ उनले भने। ओलीले लोकतन्त्रमा ‘सोलो डान्स’को अर्थ नरहने भन्दै दलिय अनुशासन तोड्नेको समर्थनको कुनै अर्थ नरहने बताए। उनले दुवैतिर मान्छे दोहोरिएका कारण अन्ततः विघटनको बाटोमा गएको बताए।
‘केही हाम्रो सांसदको किर्ते हस्ताक्षर गरेर उता लगेका रहेछन्, केही उताका यता आएका रहेछन्’, उनले भने, ‘संविधानको धारा ५ अनुसारको सरकार बन्न दाबी सदर हुनु अवस्था नदेखेर विघटनको बाटोमा गयो।’ ओलीले ७६ (५) अनुसारको सरकारका लागि परेका दुवै समूहका दाबी सही नभएको ठहर गरेर राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको बताए।
उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर पनि गरे। ओलीले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्न गर्न नपाइने बताए।
‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो। यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन,’ उनले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए। तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए।



लोकपाटी न्यूज

