जनकपुरधाम। प्रदेश नम्बर २ को सरकारमा मन्त्रीमण्डल हेरफेर हुने सम्भावना बढेको छ। स्रोतका अनुसार प्रदेश २ सरकारबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समूहबाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी भइरहेको छ। एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउने तयारी भइरहेको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र मध्यावधि निर्वाचन घोषणाको सिफारिस गर्दा महन्थ – राजेन्द्र पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गरेका थिए। मन्त्रीपरिषद्को उक्त सिफारिसमा शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन र मध्यावधि निर्वाचन घोषणा गरेकी छन्।
तर, जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने प्रधानमन्त्री ओलीको उक्त निर्णयको विपक्षमा उभिएका छन्। जसपाका अध्यक्षद्वयसहितका नेताहरु पक्ष र विपक्षमा विभाजित भएपछि पार्टी विभाजनको संघारमा पुगेको हो। जसको प्रभाव प्रदेश २ सम्म पनि परेको छ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउने तयारी भैरहेको छ। ती मन्त्रीहरुलाई हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतलाई निर्देशन दिएको स्रोतले बतायो।



लोकपाटी न्यूज

