काठमाडौं। विपक्षी दलहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न कानूनी रूपमा तयारी थालेका छन्।
त्यसका लागि पाँच दलका नेताहरू अहिले सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा कानून व्यवसायीसँग परामर्शमा जुटेका छन्। छलफलमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका दोस्रो तहका नेताहरू सहभागी छन्।
अदालतमा रिट दायर गर्न सबै प्रक्रियाको तयारी र कागजात जम्मा गरिरहेको नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले बताए। उनले तयारी नसकिएकाले अदालत जान अझै केही समय लाग्ने जानकारी दिए।
यसअघि शनिवार पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध १४९ जना सांसदलाई लिएर सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

