सत्ताधारीले जतिजति चर्तिकला देखाउँछ, क्रान्तिले त्यति नै वैधता पाउँछ : भुसाल

Ghanashyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन्।

सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपाय अपनाउने गरेको उनको भनाई छ। तर सत्ताधारी वर्गले जति जति त्यस्तो चर्तिकला देखाउँछ क्रान्तिले त्यति नै वैधता पाउने भुसालको तर्क छ।

यस्तो छ नेता भुसालको भनाईं :

सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरूको पंक्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरूलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ। वास्तवमा परिणाम विपरीत हुन्छ।

उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ। सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरू अपनाउँछ। यसबारे मार्क्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरूको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो।

अथवा यसरी भनौं- राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गर्थ्यो भने आजका विश्व विद्यालयहरूमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो।