काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सबैले सम्मान गर्न आग्रह गरेका छन्। पार्टीभित्रका नेताहरू प्रतिक्रियावादीहरूसँग मिलेर अनुशासनहीन गतिविधिमा लागेको बताएका छन्। शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रपतिप्रति भइरहेको टिकाटिप्पणीको खण्डन गरे।
विशेष गरी उनले काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो विज्ञप्तिमा प्रयोग गरेको भाषाप्रति आपत्ति जनाए। विज्ञप्तिमा राष्ट्रपति भण्डारीलाई मध्यम आदरार्थी शब्द ‘तिमी’ प्रयोग गरेको भन्दै ओलीले देउवाको आलोचना गरे। ओलीले माओवादी र नेपाली काँग्रेसले देशलाई अराजकता र असभ्यतातर्फ लान खोजिरहेको बताए।
‘तपाईं पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन्। असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान् ठान्छन्,’ ओलीले भने, ‘नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो।’
उनले अगाडि थपे, ‘आज जनताका छोराछोरी सम्मानित पदमा पुगेका छन्, तिनलाई सम्मानसम्म गर्न सकेको छैन, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन्।’ ओलीले आफ्नै पार्टीका नेताहरू समेत बिक्री भएको आरोप लगाए। उनले आफ्नो पार्टीभित्र विश्वासघातीहरू देखिएको टिप्पणी गरे। ‘उहिले अंग्रेजहरु आउँदा मात्र मिर्जाफोर मिर्जा काशिमहरु आएका थिएनन्, अहिले पनि कहिँकतै अन्तर्घाती अन्तध्र्वंसी, विश्वासघातीहरू छन्।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको गुट नै पार्टी कमजोर हुनुको कारण भएको बताए। उनले पार्टीलाई एक गर्न खोज्दा पनि गुटको राजनीति गर्नेहरूले त्यसलाई नस्वीकारेको बताए। ‘अदालतलाई अपजस लगाइयो, अदालतभन्दा अघि पार्टी फुटाइसकेको थियो, अर्को नाममा दर्ता गर्न नगएर, दर्ता गर्ने कुरा सुन्नै नचाहेर, अंहकारमा डुबेर, प्रतिक्रियावादीसँग मिलेर पार्टीविरुद्ध गतिविधि गरे,’ उनको भनाइ छ, ‘हिजो जुन दलसँग प्रतिस्पर्धा गरियो, भोलि पनि गर्नुपर्छ, उही दलको नेतालाई प्रधानमन्त्री बनाएर, अनुशासन तोडे।’



लोकपाटी न्यूज

