काठमाडौं। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनले सांसदहरूलाई काठमाडौं बोलाएको छ। शनिवार बसेको विपक्षी गठबन्धनको आकस्मिक बैठकले सबै सांसदलाई काठमाडौं बोलाएको हो।
संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठक बसेको थियो। बैठकले संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिँदै कानूनी र राजनीतिक रूपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेको छ।
सोही विषयमा छलफल गर्न विपक्षी गठबन्धनले सांसदहरूलाई काठमाडौं बोलाएको हो। उनीहरूसँग छलफल गरेर कसरी अघि बढ्ने भन्नेमा निर्णय लिइने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।
मध्यरातमा राष्ट्रपतिले दुवै दाबी खारेज गरेपछि रातारात मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटन र चुनावको मितिको सिफारिस गरिएको थियो। त्यसलाई राति नै राष्ट्रपतिबाट सदर गरिएको थियो।
यसअघि पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनः स्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।



लोकपाटी न्यूज

