एमालेले क-कसलाई सोध्यो स्पष्टीकरण ?

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको बागमती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापाविरुद्ध लागेका १४ जना प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण सोधिएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन पार्टीको ह्विप उल्ङघन गरी प्रदेश सांसदहरूले विपक्षी उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लंघन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ एमालेका आधिकारिक उम्मेदवार थापालाई स्वतन्त्र उम्मेदवार देवकोटाले पराजित गरेका थिए। प्रदेशतर्फ थापाले ४५ मत प्राप्त गर्दा देवकोटाले ५८ मत प्राप्त गरेका थिए। एमालेको प्रदेशसभामा ५६ मत छ। नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका थिए।