काठमाडौं। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी विपक्षी गठबन्धनको बैठकका क्रममा शीर्ष नेताहरु छुट्टै छलफलमा जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादव छुट्टै छलफलमा बसेका हुन्। शीर्ष नेताहरुबीचको छलफलपछि सामूहिक रुपमा बस्ने तयारी छ।
विपक्षी दलहरुको बैठकमा दोस्रो तहका नेताहरु पनि उपस्थित रहेकोमा शीर्ष नेताहरु छुट्टै छलफलमा जुटेका हुन्। गठबन्धनको बैठकमा एमालेको विद्रोही पक्षबाट भने नेता नेपालमात्र सहभागी छन्।बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्ने तथा कानुनी उपचार खोज्ने बताइएको छ। प्रधानमन्त्रीको सिफारिसमा शनिबार बिहान १:४९ प्रतिनिधि सभा विघटन गरिएपछि विपक्षी दलहरुले भर्त्सना गरेका छन्।
शुक्रबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिले दिएको समयसीमामा कांग्रेस सभापति देउवाले १४९ सांसद्हरुको व्यक्तिगत हस्ताक्षर बुझाएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दलीय समर्थन रहेको दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबीलाई अस्वीकृत गरेकी थिइन्। लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति सिफारिस गरेको थियो। जसलाई राष्ट्रपतिले मध्यरातमै सदर गरेकी थिइन्।



लोकपाटी न्यूज

