‘ओलीले विश्वासको मत नलिनु आश्चर्य’

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर अल्पमतको प्रधानमन्त्रीका रूपमा आफूले विश्वासको मत नपाउने भएपछि संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति समक्ष निवेदन दिएको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रक्रियामा प्रधानमन्त्री आफैंले दाबी गरेका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले एमालेका १२१ र जनता समाजवादी दलका ३२ जना गरी १५३ सांसदको समर्थनमा ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गरेको बताएका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै रूपमा पुनः नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री दाबी गरेको उल्लेख गरेका छन्।

संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यको हैसियतमा मात्र यसरी बन्ने वैकल्पिक सरकारको प्रधानमन्त्री दाबी गर्न पाइन्छ। प्रधानमन्त्री ओलीले राजीनामा नगरी वा राष्ट्रपतिले उनलाई पदमुक्त नगरी सरकार गठनको नयाँ प्रक्रिया शुरु गर्न नपाइने वरिष्ठ अधिवक्ता शम्भु थापाले बताए।

अहिले १५३ सांसदको समर्थन रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी ‘मैंले विश्वासको मत पाउने अवस्था थिएन, त्यसैले मार्ग प्रशस्त गरेको भनेर रोइकराइ गर्नुको अर्थ नरहेको’ संवैधानिक कानुनका जानकारहरू बताउँछन्। वैशाख २७ मा संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपतिले वैशाख ३१ मा संविधानको ७६ (३) अनुसार अल्पमतको सरकारका प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री भएपछि उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो। आफूसँग बहुमत सांसद दाबी गर्ने प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो बालुवाटारमा पत्रकार सम्मेलन गर्दै आफूले विश्वासको मत पाउन अवस्था नरहेकोले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै नयाँ प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई अनुरोध गरेको बताए। –ईकागजबाट