काठमाडौं। संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेर केपी शर्मा ओली शीतलनिवासबाट बाहिरिएका छन्। एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित दाबी पेश गरेक छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षारसहित शितल निवास पुगेकै समयमा ओलीको यस्तो दावी आएको हो। उनी विपक्षी गठबन्धनभन्दा १० मिनेटअघि प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतलनिवास पुगेका थिए।
ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहको समर्थन रहेको आधार प्रस्तुत गरेका छन्। यो प्रक्रिया आरम्भ भएलगत्तै ओली महन्थ ठाकुर र राजेन्द्र महतोसहित बिहीबार राति ११ बजे शीतलनिवास पुगेका थिए।
आफूलाई सरकार गठन गर्न आवश्यक सांसदहरूको संख्या बोकेर शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट फर्किसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ‘एमालेको १२१ र जसपाको संसदीय दलको नेताले … १५३ जनाको,’ ओलीले जुटाएको संख्याबारे थापाले भने।
प्रधानमन्त्रीका अर्का सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गरेर यसको पुष्टि गरेका छन्। उनले लेखेका छन्, ‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रक्रिया अनुसार सरका गठनमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। हिजैदेखि सक्रिय भएका विपक्षीहरुले मध्य दिनसम्म कुनै निष्कर्ष निकालिरहेका थिएनन्। त्यसैका आधारमा प्रधानमन्त्री ओलीले पत्रकारहरु बिच बालुवाटारमा निक्कै ‘कन्फिडेन्स’ देखाएका थिए।
तर, एकाएक विपक्षी मोर्चाका नेताहरु बिच देउवालाई प्रधानमन्त्री बनाउने तय भयो। उनीहरु पत्र लिएर शीतल निवास पुगेका थिए। उनीहरु शीतल निवास पुग्दा प्रधानमन्त्री ओली राष्ट्रपतिसँग छलफलमा रहेकाले केही समय कुर्न परेको थियो। विपक्षी नेताहरु शीतलनिवास पुगेको केही समयपछि ओली बाहिरिएका हुन्।



लोकपाटी न्यूज

