काठमाडौं। सरकारले थप २१ वस्तुहरुलाई अत्यावश्यक सूचीमा राखेको छ। कोभिड संक्रमणको महामारी रोकथामका लागि उपयोग हुने सामाग्रीहरुलाई अत्यावश्यक सामाग्रीमा राखेको हो। भन्सार विभागले कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि २०७८ जारी गरेको छ। कार्यविधिले शीघ्र जाँचपासको सूचीमा राखेका वस्तुमा अक्सिजन, अक्सिजन सिलिन्डर, भेन्टिलेटर हेलमेट, लिक्विड अक्सिजन ट्यांक, कन्टेनर, आइसीयु मोनिटर, बेड, रेम्डिसिभिर लगायत छन्। सरकारले यो सूचीमा अन्य केही वस्तु पनि कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित अत्यावश्यक सामाग्री भनेर तोकेको छ।
संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामाग्री छिटो भित्र्याउने बन्दोबस्त मिलाउन सरकारले सूचीमा मालवस्तु थप गरेको हो। उक्त सूचीमा परेका मालवस्तु आइपुग्नेबित्तिकै छिटो जाँचपास गरेर सम्बन्धित ठाउँमा जान दिने व्यवस्थापन भन्सार कार्यालयहरुले गर्नु पर्नेछ। यी सामाग्री जाँचपासका लागि पैठारीकर्ताले भन्सार अधिकृत समक्ष घोषणा गर्नु पर्नेछ। यस्ता मालवस्तुलाई नाकामा आइपुग्नेबित्तिकै भन्सार अधिकृतले उच्च प्राथमिकताका साथ जाँचपास गर्नुपर्नेछ। यसरी भन्सारबाट जाँचपास भएको वस्तु सरकारी अन्तर-निकाय समन्वय गरी ओसारपसार गर्नुपर्नेछ।
यो कार्यविधि भन्सार महानिर्देशकले जुनसुकै बेला खारेज गर्न सक्नेछ। यसअघि नुन, तेल, इन्धनलाई मात्रै अत्यावश्यक सूचीमा समावेश गरिएको थियो।



लोकपाटी न्यूज
