काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘यसअघि नै बूढानीलकण्ठ पुगिसकेका छन्।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन्। विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ।
यसअघि नयाँ सरकार गठनमा सहभागी हुने वा सरकारविरुद्ध जानेबारेमा नेपाली कांग्रेसले अन्य दलसँग छलफल गरेर मात्र निष्कर्णमा पुग्ने निर्णय गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई धारा ७६(५) को साहरा लिएकोमा काँग्रेस बैठकले विरोध जनाएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। अब कांग्रेसले के गर्छ त? जवाफमा सहमहामन्त्री महतले भने, ‘अन्य दलसँग पनि आजै छलफल हुन्छ। छलफलबाट आउने निष्कर्ष अनुसार रणनीति तय गरेरर अघि बढ्छौ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो। कांग्रेसले लोकतन्त्र रक्षाका लागि सबै विकल्पमा छलफल गर्नेसमेत महतले बताए। ‘सबै विकल्पमा छलफल गर्छौ। लोकतन्त्र जोगाउन ओली प्रवृत्ति विरुद्ध कुन बाटो अख्तियार गर्दा हुन्छ। त्यसको बारेमा छलफल गर्छौ। आजै टुंगोमा पुग्छौ,’ उनले भने।



लोकपाटी न्यूज

