काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन्। कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक आह्वान गरेको छ।
बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अगाडी बढ्ने ? भन्ने विषयमा देउवाले विपक्षी दलका नेताहरुसँग छलफल थालेका छन्। अहिले देउवा-प्रचण्डबीच छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त बैठक सकेपछि देउवाले जसपाका नेताहरु र माधवकुमार नेपालसँग छलफल गर्ने तयारी गरेको छ।
यसअघि नयाँ सरकार गठनमा सहभागी हुने वा सरकारविरुद्ध जानेबारेमा नेपाली कांग्रेसले अन्य दलसँग छलफल गरेर मात्र निष्कर्णमा पुग्ने निर्णय गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई धारा ७६(५) को साहरा लिएकोमा काँग्रेस बैठकले विरोध जनाएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। अब कांग्रेसले के गर्छ त? जवाफमा सहमहामन्त्री महतले भने, ‘अन्य दलसँग पनि आजै छलफल हुन्छ। छलफलबाट आउने निष्कर्ष अनुसार रणनीति तय गरेरर अघि बढ्छौ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो। कांग्रेसले लोकतन्त्र रक्षाका लागि सबै विकल्पमा छलफल गर्नेसमेत महतले बताए। ‘सबै विकल्पमा छलफल गर्छौ। लोकतन्त्र जोगाउन ओली प्रवृत्ति विरुद्ध कुन बाटो अख्तियार गर्दा हुन्छ। त्यसको बारेमा छलफल गर्छौ। आजै टुंगोमा पुग्छौ,’ उनले भने।



लोकपाटी न्यूज

