काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रूपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन्। ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिक्रिया दिएका हुन्।
सिंहदरबारमा आफू पक्षीय सांसदहरूसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामी निकास दिन्छौं।’ ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूसँग छलफल हुने पनि जानकारी दिए। अध्यक्षद्वय यादव र ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए।
नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको हो। ठाकुर बिहीबार मध्यरातमा राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। यस विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले शीतलनिवास जानुको राजनीतिक सन्दर्भबारे भने खुलाउन चाहेनन्।
‘राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट भएको हो’, ठाकुरले भने, ‘चिया खानको लागि गएको थिएँ। त्यसपछि फिर्ता आएँ।’ उनले निकास दिने दाबी गरे पनि यो बैठकमा जसपाको उपेन्द्र यादव पक्ष सहभागी छैन। राष्ट्रपतिले ७६ (५)को सरकार गठनका लागि बहुमतको दाबी पेस गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छन्।



लोकपाटी न्यूज

