काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान अध्यक्ष प्रचण्ड र यादवबीच भेटवार्ता भएको माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए।
उनकाअनुसार जसपा अध्यक्ष यादवले पार्टीका अर्का महन्थ ठाकुरलाई अघि सार्ने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्ड समक्ष गरेका थिए। ‘बिहान ८ बजे अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भयो,’ उनले भने, ‘उहाँले महन्थजीलाई बनाऔं(प्रधानमन्त्री) न त भन्नुभयो।’
आफूहरू सबै विकल्पमा छलफल गर्न खुला रहेको जवाफ अध्यक्ष प्रचण्डले दिएको उनले बताए। ‘जवाफमा अध्यक्ष कमरेडले हामी सबै विकल्पमा खुला छौं भन्नुभयो,’ उनले भने, ‘पहिलो त राष्ट्रपतिले चालेको कदम असंवैधानिक छ। यसको विरोध गरौं र विकल्पबारे पनि छलफल गरौं भन्नुभयो।’
अध्यक्ष दाहालले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने तय भएको उनले बताए। उनकाअनुसार सभापति देउवासँगको भेटपति माओवादी स्थायी समिति बस्नेछ। ‘साढे ११ बजे कांग्रेस सभापति देउवाजीसँग अध्यक्ष प्रचण्डले भेट्ने कुरा छ,’ उनले भने, ‘उहाँसँगको भेटपछि सबै सम्भावना हेरेर माओवादी स्थायी समिति बैठक बस्छ र निर्णय गर्छ।’



लोकपाटी न्यूज

