काठमाडौं। बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन्।
बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै विपक्षी गठबन्धनका उम्मेदवार डा. देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका हुन्।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो।
थापा सर्वोच्च अदालतले माओवादी र एमालेलाई ब्यूँताएपछि एमालेतर्फ लागेका थिए। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित थापा एमाले प्रवेश गरेपछि कारबाहीमा परे।
माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गएको थियो। त्यही ठाँउमा भएको आज भएको उपनिर्वाचनमा एमालेको सस्थापनले थापालाई नै उम्मेदवार बनाएको थियो।
३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए। बागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले नो भोटको अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो।
थापालाई गृहमन्त्रीका रूपमा काम काम नगराउन सर्वोच्च अदालतले बिहीबारमात्रै अन्तरिम आदेश दिएको थियो।



लोकपाटी न्यूज

