काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठकले कोभिड-१९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रूपमा परिचालन गर्न सुझाव दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका थिए।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले कोभिड नियन्त्रण तथा रोकथामका लागि तीन वटा सुझाव आएको बताए। ‘भ्याक्सिनलगायतका स्वास्थ्य आवश्यक सामग्रीमा अन्तर्राष्ट्रिय सहायता परिचालन र आयातमा पहल गर्न र कोभिड नियन्त्रणमा तीनै तहका सरकार एकीकृत ढंगले परिचालन गर्नुपर्ने सुझाव आएको छ’, ज्ञवालीको भनाइ छ।
त्यस्तै बैठकले उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिहरूको क्रियाकलाप भर्त्सना समेत गरेको छ। त्यस्तै, बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वसांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। उनको निधनबाट तराई-मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्ष निकाल्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
यस्तो छ प्रेस वक्तव्य
नेकपा (एमाले) स्थायी कमिटीको पाँचौं बैठक आज ६ जेठ २०७८ मा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बस्यो । बैठकले देहायका निर्णयहरु गरेको छः
१. बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई-मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
२. अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
३. बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।




लोकपाटी न्यूज

