७ मन्त्रीको नियुक्ति बदरपछि एमालेको यस्तो छ प्रतिक्रिया

UML_Office_Thapathali
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्त्ति बदर गर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने जनाएको छ। सर्वोच्च अदालतले संघीय सांसद नरहेका ७ मन्त्रीको नियुक्ति बदर गरिदिएसँगै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेश सरकारले सम्मान गर्ने बताएका हुन्।

अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहने बताउँदै उनले यस विषयमा थप प्रतिक्रिया आदेशको पूर्णपाठ हेरेपछि दिने उनले बताए। ‘भरखर सुनियो। पूर्णपाठ हेर्न पाएको छैन। अदालतको निर्णयप्रति हाम्रो तर्क र फरक राय हुन सक्छन्,’ ज्ञवालीले भने, ‘अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो। त्यो कार्यान्वयन गर्छौं।’

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतको सरकारमा शपथ दिलाएका ७ जना मन्त्रीको नियुक्ति बदर भएको छ। मन्त्रीहरु मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र रामबहादुर थापाविरुद्ध उक्त रिट परेको थियो।

उनीहरुविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उनीहरुलाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता विराज थापाले दायर गरेको रिट सर्वोच्चले उक्त आदेश दिएको हो।