सुरेन्द्रकुमार बम्जन / विश्व बजारमा साम्राज्यवाद, विस्तारवाद, र पूँजीवादको विरुद्धमा सर्वहारा वर्ग कम्युनिष्टहरुको समाजवाद र जनवाद कमै छन्। तर पनि विश्व इतिहासलाई
नियाल्दा कमै उमेरमा नेतृत्व समाल्न सक्ने कम्युनिस्ट नेताहरूको कहानी पनि कम छैनन्।
कति सफल भए त कति असफल। युरोपियन, अफ्रिकन हुँदै एसियन मुलुकहरूमा कम्युनिस्ट आन्दोलन केही मात्रमा सफल भएको देखिन्छ। यही सन्दर्भमा नेपालमा पनि कम्युनिस्ट आन्दोलन सफल नभएको होइन। तर विस्तारवादको प्रभावले कम्युनिस्ट एकता र संगठन निरन्तर बलियो हुन सकेन। त्यसका बावजूद पनि कम्युनिस्ट घटक कमजोर बनेको देखिन्न।
विचार, सिद्धान्त, बहसको आधारमा फेरि कम्युनिस्ट घटक एकता हुने हो भने विरोधीहरु सहजै पराजय हुनेछ। जनयुद्ध र जनआन्दोलनमा जस्तै फेरि पुनः प्रचण्ड कै नेतृत्वमा एक पटक कम्युनिस्ट घटकहरू एक भएर देश र जनताको लागि सोच्ने हो भने २०६४ सालको जस्तै बहुमत प्राप्त गर्न कति पनि गाह्रो हुने छैन।
कम्युनिस्ट सिद्धान्तमा पद, लोभ र नेतृत्वको होडबाजी चल्नुहुँदैन। बरु समयावधि नियम लागू गर्नुपर्छ। यस सन्दर्भमा केही सुझावः
१. कमरेड प्रचण्डको नेतृत्वमा टुटफुट भएका माओवादी घटकहरू यथाशीघ्र एकता हुने पहल थाल्ने, बहस, छलफल र वार्ता जारी राख्ने। २. पार्टी र संगठन निर्माणमा मनलाग्दी र नातावाद, आफन्तवादको प्रस्ताव नगर्ने।
३. क्षमता र योगदानको मूल्यांकन गरी पार्टी र संगठनमा जिम्मेवारी दिने र अरू पक्षबाट प्रवेश गरेकोलाई उचित सम्मानसहित समितिमा मिलाउने सिधै माथिल्लो जिम्मेवारी नदिने।
४. सहिद, बेपत्ता र घाइते परिवारलाई उचित मूल्यांकन गरी समितिमा समावेश गर्ने र क्षमता हेरेर अपांग घाइतेहरूलाई जिम्मेवारी दिने र उपचारको व्यवस्था मिलाउने। ५. अयोग्य भनिएको लडाकुहरूलाई यथाशीघ्र छलफल गरेर उचित व्यवस्थापन सहित जिम्मेवारी प्रदान गर्ने।
६. पार्टीका उच्च नेतृत्वहरू महिनामा एक चोटि गाउँ गाउँमा पुगेर सर्वहारा वर्गको पीडा व्यथा बुझेर सुनुवाइ गर्ने र स्थानीय पार्टी प्रतिनिधिलाई सधैँ जनताको साथमा रहन निर्देशन दिने। ७. पार्टीमा महिला समावेश बढाउने।
८. जनताले पोखेको गुनासो र समस्यालाई तीव्रताका साथ सकेको सहयोग गरिदिने र मिलाउने व्यवस्थापन गरिदिने। ९. पार्टी गतिविधि र जनताको सरोकारको लागि कम्तीमा ६ महिनाको एक पटक केन्द्र देखि स्थानीय तहसम्मको बैठक राख्ने निर्णय गर्ने।
१०. जनवर्गीय संगठनहरुमा पनि उमेर हद कायम राख्दै युवा पीढीलाई सामेल गराउने। विद्यार्थी र वाइसीएल सधैँ जनताको सेवामा लाग्ने र पहिला जस्तै खटेर जनताको मन जित्ने बनाउने। ११. पार्टी नेतृत्वको निर्देशन, आचारसंहिता, कार्यविधि र विधान सबै पार्टी प्रतिनिधिहरू, कार्यकर्ताहरूले अनुशासित भएर पालना गर्ने।



लोकपाटी न्यूज

