सरकारले कोरोना संक्रमण फैलायो : काँग्रेस

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिनुमा सरकारको कमजोरी औँल्याएको छ। कोभिड-१९ महामारीको खतरा देखिदा पनि सरकारले भिडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरू गरिरहँदा संक्रमण द्रुत गतिमा बढेको आरोप काँग्रेसले लगाएको छ।

‘सरकारको नेतृत्वपंक्तिको अगुवाइमा गत समयमा भएका भिडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरूले संक्रमण द्रुत गतिमा बढ्न मद्दत गरेको छ,’ काँग्रेसले भनेको छ, ‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरूबाट संक्रमण नभएका क्षेत्रहरूमा चाँडो संक्रमण फैलँदो छ।’

कोभिड-१९ महामारीलाई नियन्त्रण गर्न सरकार चुकेको काँग्रेसको ठहर छ। सीमा नाकाहरूको व्यवस्थापनमा सरकार सुरुमै चुकेको र त्यसमा सरकार गम्भीर नभएको पनि उसले भनेको छ। मुलुकको स्वास्थ्य संरचनाले धान्नै नकस्ने गरी संक्रमित बढेका र त्यसले जनताको अवस्था नाजुक बनाएको काँग्रेसको भनाइ छ।

बढ्दो बिरामीको चापसँगै विशेष गरेर अक्सिजन र आइसीयु बेडको अभाव देखिन थालेको काँग्रेसको भनाइ छ। कोभिड-९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) भंग गर्न माग गरिएको छ। सीसीएमसी संरचना असफल भएकोले त्यसको स्थानमा प्रभावकारी संयन्त्रको व्यवस्था गर्न काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरायो। विदेशमा जाने श्रमिकहरूको पीसीआर परीक्षणमा गरिएको कार्टेलिङको अन्त्य गर्न पनि माग गरेको छ।