काठमाडाैँ। नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज पनि सिंहदरबारमा बस्दैछ। पार्टीको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको कार्यदलको बैठक ७ बजे बस्ने भएको छ। ओली पक्षबाट संयोजक सुवास नेम्बाङले आज साँझ बैठक बस्ने जानकारी दिएका छन्। बैठकमा पार्टीलाई एक बनाउने कार्यरुपबारे छलफल हुने पनि उनले बताए।
आजको बैठकमा भोलि बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनबारे पनि छलफल गर्ने भएको छ। आजको बैठकमा कार्यदलको कार्यक्षेत्र र आचार संहिता पनि तय गर्ने भएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा नेकपा एमालेले माओवादी छाडेर आएका रामबहादुर थापा ‘बादल’लाई उमेदवार बनाएको छ। एमालेकै माधव नेपाल पक्षले अन्य कांग्रेस-माओवादीको साथमा डा. खिमलाल देवकोटालाई उठाएको छ।
यस्तोमा वरिष्ठ नेता नेपालले आफ्नै पहलमा उठाइएका देवकोटालाई कुनै हालतमा पछि नहटाउने अडान लिएका छन्। उनले देवकोटा नै आफ्नो उम्मेदवार भएको बताउँदै बादललाई सघाउन नसकिने घोषणा गरिसकेका छन्। हिजो बसेको कार्यदल बैठकले पार्टीमा भ्रम सिर्जना हुने, अविश्वास बढाउने र विभाजनतर्फ लैजाने कुनै पनि काम नगर्न नेता/कार्यकर्तालाई निर्देशन दिएको थियो। पार्टीभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटको अवस्थामा पुगिसकेका बेला वैशाख ३१ मा कार्यदल बनाउने निर्णय भएको थियो। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने अडान लिएको छ।
ओली पक्षले भने पार्टी धेरै अगाडि बढेकाले नयाँ ढंगले व्यवस्थापन गरेर जानुपर्ने मत राख्दै आएको छ। विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल सदस्य छन्। उता नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।



लोकपाटी न्यूज

