काठमाडौं, १५ माघ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भीर आरोप लगाएका छन् ।
मङ्गलबार रिपोर्टर्स नेपालले गरेको साक्षात्कारमा उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । उनले भने, ‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुन १४ गते स्ववियुको निर्वाचन गर्नेगरी तयारी गरेको छ ।’
विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उनले विश्वास दिलाए । उनले भने, ‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’
नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको गम्भीर आरोप छ । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले आरोप लगाए । उनले भने, ‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन ।’
स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुनेपनि उनले तर्क गरे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भएर नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने, ‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन ।’ उनले आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुन १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको उनले व्यङ्ग्य कसे ।



लाेकपाटी न्यूज

