यादवको काउन्टर पत्र, दलको नेता छानेका छैनौं

Upendra Yadav
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद् सचिवालयमा पठाए लगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले काउन्टर पत्र पठाएका छन्। पत्रमा यादवले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको उल्लेख गरेका छन्।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएकोसमेत यादवले सचिवालयलाई जानकारी गराएका छन्। उनले दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन भनेका छन्। संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको केही घण्टामै ठाकुर पक्षले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद् सचिवालयमा पठाएका थिए।

तर यादव पक्षले संसद् सचिवालयमा दलको नेता महतो भएको भनेर दर्ता भएको पत्र किर्ते गरिएको आरोप लगाएको छ। दुई अध्यक्षबीच फाटो ल्याउन दुई जिव्रेहरूले किर्ते गरेर दलको नेता भएको भन्दै पत्र दर्ता गराएको यादव पक्षको आरोप छ। यादव पक्षका नेता कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तेह्याक राईले किर्ते गरेर पत्र दर्ता गराउनेलाई कारबाही गर्ने तयारी भइरहेको बताए।

‘दलको नेता राजेन्द्र महतो भएको भन्दै दर्ता भएको पत्र किर्ते गरिएको हो। किर्ते गर्नेलाई कारबाही गर्ने तयारी भइरहेको छ। अहिले हामी छलफलमा छौं। कसले गरेको हो भन्ने पत्ता लागिसकेको छ,’ राईले भने, ‘दुई पार्टी अध्यक्षबीच असमझदारी कायम गराउन दुई जिव्रेहरूले फर्जी काम गरेका हुन्।’

यसअघि आजै ३० वैशाखमा बसेको संसदीय दलको बैठकले नेतामा राजेन्द्र महतोलाई चयन गरेको भन्दै पत्र संसद् सचिवालयमा दर्ता गरिएको थियो। पत्रमा उल्लेख गरिएको मिति काटेर हातले लेखिएको छ। यादव पक्षका कार्यकारिणी समिति सदस्य रामसहाय यादवले पार्टीका कुनै पनि निकायबाट संसदीय दलको नेता चयन नभएको बताए।

कार्यकारिणी समिति बैठक र दलको बैठकबाट विधान नै पारित नभएको अवस्थामा दलको नेता चयनै हुन नसक्ने यादवले बताए। ‘पार्टीका कुनै निकायबाट दलको नेता चयन गर्ने निर्णय भएको छैन। कार्यकारिणी समिति र दलको बैठकले दलको विधान पारित गरेको छैन,’ यादवले भने, ‘विधान नभइकन कसरी दलको नेता चयन हुन्छ। यो सिधै किर्ते काम हो।’

पहिलाको अवस्थाको अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरलाई दुरुपयोग गरिएको यादवले बताए। ‘पहिलाको अवस्थाको अध्यक्षको हस्ताक्षर दुरुपयोग भएको हो। पहिलाको मितिलाई सच्याएर अर्को मिति बनाएर दर्ता गरिएको छ। त्यसको कुनै अर्थ छैन,’ यादवले भने।