काठमाडौं, १५ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’
साक्षात्कारमा बोल्दै स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि जिकिर गरे । आफ्नो संगठनले एक महिनाअघि नै स्ववियु निर्वाचन फागुन १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए । उनले भने, ‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।’
उनले वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप लगाए । उनले भने, ‘सरकार जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मुल्यवृद्धि भएको बेलामा, हत्या, हिंसा, बलात्कार, माफिया, भ्रष्टाचार र जति नहुनुपर्ने अपराधहरुको संरक्षक स्वयम प्रधानमन्त्री बनिरहेको बेलामा, सरकार निरीह र अलोकप्रिय भइरहेको बेलामा विश्वविद्यालयका विद्यार्थीहरुलाई थाहा छ, कम्युनिष्ट सरकार कहीँ अब जनताका अधिकारप्रति पनि धावा बौल्दै छैन भनेर ?’
स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागत नभएको पनि उनले उद्घोष गरे । उनले भने, ‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो ।’



लाेकपाटी न्यूज

