काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको बताएका छन्। सोमबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका हुन्।
विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक-आर्थिक रूपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि देशी-विदेशी शक्तिहरूको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाइ छ।
पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उनले बताए। कम्युनिस्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ।
‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ। पार्टी एकता एक चोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर रूप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिस्टहरूको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ,’ उनले भने, ‘अब हामीले फेरि कम्युनिस्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सही ढङ्गले प्रस्ट पारेर, सांस्कृतिक रूपान्तरणको अभियान पनि कम्युनिस्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ।’
नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रूपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याए। विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभए पनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाइ छ। यद्यपि, कम्युनिस्ट पार्टीहरूबीचको एकीकरण गर्न आफूहरूले हिम्मत नहार्ने उनले बताए।
‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ। तर हामी हिम्मत हार्दैनौं। कम्युनिस्टहरूले हिम्मत हार्नु हुँदैन। हामीले बाह्य शक्तिहरूको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिस्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने,’ उनले भने।
माओवादी केन्द्रले आफूलाई सांस्कृतिक रूपान्तरण गर्दै कम्युनिस्ट, क्रान्तिकारीसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरूसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए।



लोकपाटी न्यूज

