राष्ट्रियसभामा देवकोटालाई जिताउन माओवादी केन्द्रको ह्वीप

perish_danda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्ने निर्णय गरेको छ। बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनका साझा उम्मेदवार देवकोटलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको हो।

सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गरी देवकोटालाई जिताउन आह्वान गरेका छन्। संघीयतका विज्ञ रहेका देवकोटाले गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढिकरणमा सहयोग पुर्‍याउने भएकाले विजयी गराउन माओवादी केन्द्रको अपिल छ।

‘संघीयता, गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरूको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले बागमती प्रदेशसभाका सबै माननीय सदस्यहरू, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिह्नमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ।’

साथै, माओवादी केन्द्रले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका आफ्ना पूर्वनेता रामबहादुर थापा ‘बादल’लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार’ भनेको छ। बादल गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको माओवादीको आरोप छ। यसअघि उक्त पदमा निर्वाचित भएका गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो।

देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षको साझा उम्मेद्‌वार बनेका थिए। तर, पछिल्लो समय नेपाल समूह एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग वार्तामा रहेकाले देवकोटालाई मत दिने/नदिने निर्णय गरिसकेको छैन। यही जेठ ६ गते उपनिर्वाचन हुँदैछ।