काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले मदन–आश्रीतकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका छन्। गौतमले स्मृति दिवसमा उनीहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गरेका छन्।
२८ औं मदन– आश्रीतको स्मृति दिवसको अवसरमा गौतमले वृहत् वाम एकतामार्फत मदन भण्डारी र जीवराज आश्रीतको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्। त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन जिम्मेवार नेतालाई उनको आग्रह छ।
गौतमले भनेका छन्, ‛क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो। तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ।
म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले)सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु। यसनिम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु।’
तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो।



लोकपाटी न्यूज

