काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको बताएका छन्। उनले मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि द्वन्द्व निम्त्याउने प्रयास भएको बताएका हुन् ।
सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो पुन द्वन्द्व निम्त्याउने प्रयास भइरहेको भन्दै दुख व्यक्त गरे ।
उनले भने,‘सकिएको द्वन्द्व फेरि निम्त्याउने प्रयास भएको छ । द्वन्द्वको घाउमा मल्हम लाउनुको सट्टा झन बल्झाउने, शान्ति खल्बलाउने, समाजमा हिंसा फैलाउने काम हुँदैछ ।’
उनले राष्ट्रिय अखण्डता तोड्ने राष्ट्रियता बिरोधी कुनैपनि देशद्रोही काम देशले नसहने बताए । मुलुकमा अहिले जनताको सरकार आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता बिरोधी गतिविधि सह्य नहुने जिकिर गरे ।
कार्यक्रममा बोल्दै ओलीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी दिए ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बताए । भ्रष्टाचार सहिँदैन, म गर्दिन र गर्न दिन्न । कसैले गरेको पाए अनुहार हेरेर व्यवहार हुँदैन, उनले भने । अख्तियारलाई इङकित गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न हातमा अधिकार लिएर बसेकाले स्वयम् भ्रष्टाचार गरेकोमा चिन्ता व्यक्त गरे ।



लाेकपाटी न्यूज

