काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानो विवादमा रामबहादुर थापा ‘बादल’लाई सामेल गराएपछि नेता माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको छ। अध्यक्ष ओलीसँग भएको वार्तामा उठेका विषयबारे जानकारी दिन आयोजित ‘जुम मिटिङ’ले भर्खरै पार्टी प्रवेश गरेका थापालाई पुरानो विवाद मिलाउने बैठकमा सहभागी गराइनु अनुचित भएको ठहर गरेको छ।
पार्टी विवाद समाधानका लागि कार्यदल सदस्यको टुंगो लगाउन आइतबार अध्यक्ष ओली र नेता नेपालबीच फेरि भेटवार्ता हुँदैछ। उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट हुने तय भएको छ। आजको भेटवार्ताबाट कार्यदलमा बस्ने सदस्यको टुंगो लाग्न सक्ने बताइएको छ। कार्यदलमा गृहमन्त्री थापाको नाम पनि प्रस्ताव गरिएको बुझिएको छ।
जसमा नेपाल पक्ष रुष्ट बन्नेको छ। नेपाल पक्षका एक प्रभावशाली नेताले कार्यदलमा थापालाई पनि प्रस्ताव गरिए वार्तामै नबस्ने बताए। ‘थापाको नाम अहिलेसम्म प्रस्ताव गरिएको छैन,’ नेपाल पक्षका एक नेताले भने, ‘थापालाई अघि सार्नु भनेको सोझै भाँड्ने कुरा हो।’
नेपाल पक्षले आफ्नातर्फबाट सबैको नाम टुंगो लगाइसकेको छ। नेपाल पक्षले भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्तको नाम करिब करिब टुंगो लागेको छ। ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको नाम तय भएको छ।
बाँकी रहेका दुई सदस्यमा माओवादीबाट प्रविष्ट भएका गृहमन्त्री थापा र ऊर्जामन्त्री टोपबहादुर रायमाझीको नाम प्रस्ताव गर्ने ओलीको चाहना रहेको स्रोतको दाबी छ। त्यसो भए नेपाल पक्ष अलग्गै पार्टी निर्माण गर्ने दिशामा जाने बताइसकेका छन्। घनश्याम भुसालले कार्यदलमा थापाको नाम प्रस्ताव नहुने विश्वास व्यक्त गर्छन्।
‘अहिले हाम्रो पार्टी एकता अत्यन्तै संवेदनशील अवस्थामा छ। पार्टी एकता बचाउन चाहनेहरूले त्यही काम गर्नुपर्छ, जसले पार्टी एकतालाई सजिलो बनाओस्,’ भुसालले भने, ‘अहिले पार्टी एकतालाई अप्ठ्यारो पर्ने कुरा जानीजानी कसैले प्रस्ताव ल्याउँछ भन्ने मलाई लाग्दैन,’ उनले भने।



लोकपाटी न्यूज

