पार्टीमा निर्णय नगरि आफैँलाई संसदीय दलको नेता भन्दैमा हुन्छ र ? : उपेन्द यादव

Upendra Yadav
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठक आज बस्दैछ।छलफलमा पार्टीको आगामी कार्यदिशा, वैकल्पिक सरकार गठन कसरी असफल भयो भन्ने विषयमा छलफल हुनेछ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)को विवाद चुलिएपछि उपेन्द्र यादव आफ्नो दललाई एक ढिक्का पार्न लागिपरेको बताएका छन्।

‘दलभित्र आ–आफैँ नेता हुन थालेपछि हामी उपचार खोज्ने क्रममा छौँ,’ उनले भने, ‘कसैले म आफैँ संसदीय दलको नेता हुँ भनेर भन्दैमा हुन्छ र त्यसको पनि विधि प्रक्रिया होला। निर्वाचन हुनुपर्ला ।’

उनले भने, ‘त्यसको प्रक्रिया छ। एक व्यक्तिले म हुन्छु भन्दैमा केही हुँदैन। यो दलको निर्णय हो। हामी बसेर छलफल गर्ने छौँ। दाबी त जसले पनि गर्न पायो नि।’

यादवले औपचारिक रूपमा कुनै बैठक नराखेको तर अनौपचारिक रूपमा छलफल भइरहेको बताए। पार्टी अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबार नेता राजेन्द्र महतोलाई बहुमतले संसदीय दलको नेता बनाएको बताएको थियो।