महर्षि पतञ्जलिले सत्यसम्म, स्वयंसम्म, मोक्षसम्म वा पूर्ण स्वस्थको अवस्थासम्म पुग्नका लागि आठ खुड्किलोको प्रतिपादन गरे। यस आठ खुड्किलो अर्थात् आठ अंग हो, १. यम। २. नियम। ३. आसन। ४. प्राणायाम। ५. प्रत्याहार। ६. धारणा। ७. ध्यान। ८. समाधि। यी आठ अंगको आ-आफ्नै उपअंग पनि छन्। वर्तमान योगमा तीन अंग प्रचलित छन्-आसन, प्राणयाम र ध्यान।
योग भन्नासाथ धेरैले यसलाई धर्मसँग जोडेर व्याख्या गर्छन्। योग शब्दको दुई महत्वपूर्ण अर्थ छन्। पहिलो जोड र दोस्रो समाधि। जब हामी स्वयंसँग जोडिँदैनौं, समाधिसम्म पुग्न कठिन हुन्छ। यस संसारमा दुई मार्ग छन्-एक सांसारिक चक्रभित्रै रहेर श्रेष्ठतम जीवन बिताउने, दोस्रो सन्यासी बनेर मोक्ष प्राप्त गर्ने। योगले यी दुवै मार्गको मार्गदर्शन गर्ने गर्छ।
योग धर्म वा विश्वास होइन
योगलाई धेरैले धर्मको रुपमा बुझ्छन्। योग दर्शन वा धर्म होइन। योग अन्धविश्वास वा ढोंग त हुँदै होइन। ओशो भन्छन्, ‘योग एक विज्ञान हो। प्रायोगिक विज्ञान हो।’ योग खासमा जीवन जिउने कला हो। योग पूर्ण चिकित्सा पद्धती हो। जसरी बाहिरी विज्ञानको दुनियामा आइस्टाइनको नाम सर्वोपरी छ, त्यसैगरी भित्री विज्ञानको दुनियामा सर्वोपरी छन् पतन्जली। जसरी पर्वतमा हिमालय श्रेष्ठ छन्, उसैगरी समस्त दर्शन, विधी, नीति, नियम, धर्म र व्यवस्थामा योग श्रेष्ठ छ।
कर्ममा कुशलता प्राप्त गर्ने आधार हो योग
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्। अर्थात् कर्ममा कुशलता तर्फ अग्रसर हुनु नै योग हो। सुकर्म, अकर्म र विकर्म यी तीन किसिमको कर्मबारे योगसूत्र र गीतामा समेत विवेचना गरिएको छ। कर्ममा कुशालता प्राप्त गर्ने तीन चरण छन्। कर्मलाई बुझ्नु र राम्रो कर्मको अभ्यास गर्नु। यी दुवै कुशलतापूर्वक गरिएका कर्मबाट प्राप्त भएको सफलता हो।
कोही मान्छे विगतलाई हेरेर पछुतो मानिसरहेको हुन्छन्, भविष्यलाई सम्झेर चिन्तित भइरहेको हुन्छन्। योगले भन्छ, ‘वर्तमानमा बाँच्नुपर्छ। वर्तमानमा बाँच्नाले सजगताको जन्म हुन्छ। यही सजगताले हाम्रो सोचलाई सही दिशा प्रदान गर्छ।’
यसैले हामीलाई सही कर्मका लागि प्रेरित गर्छ। कर्ममा कुशलता प्राप्तिका लागि योगबाट यमको सत्य, नियमको तप र स्वाध्यायको अध्ययन गर्नुपर्छ। योगले भन्छ शरीर र मनलाई दबाउनु हुँदैन बरु यसलाई रुपान्तरण गर्नुपर्छ। यसको रुपान्तरणबाट नै जीवनमा परिवर्तन आउँछ।
योगका फाइदा
१. जीवन सन्तुलन बनाइराख्नका लागि योगको मुख्य भूमिका हुन्छ। योगका कारण नै सकारात्मक उर्जा प्राप्त भई उर्जाशील र सही तरिकाले काम गर्ने तागत मिल्छ।
२. शरीर लचकदार हुन्छ। ३. स्वास लिने र फाल्ने योगाभ्यासले इन्रडफिन हर्मोन निकालेर मन शान्त बनाउँछ। ४. ध्यानले मन शान्त र शरीर रिल्याक्स पार्छ। यसले गर्दा मानसिक स्वास्थ्य राम्रो रहन्छ। ५. झडंग रिसाउने मानिस पनि संयमित भई रिसाउने बानी कम हुन्छ।
६. स्लिपिङ क्वालिटी (निद्राको गुणस्तर) राम्रो बनाउँछ। मन आनन्दित भएपछि मस्त निद्रा लाग्छ। ७. शरीररको बनावट राम्रो बनाउँछ। नियमित रुपमा योग गर्दा शरीरको तौल नियन्त्रणमा रहन्छ। ८. रोगप्रतिरोधक क्षमता र स्मरणशक्ति बढाउँछ। ९. ढाड दुख्ने समस्या पनि कम हुन्छ।
१०. बिहान सबेरै उठेर योग गर्नु उपयुक्त हुन्छ। नियमित रुपमा ३० मिनेट गर्नुपर्छ। ८ वर्षदेखि माथि जुनसुकै उमेरकाले पनि योग गर्न सकिन्छ। ११. उमेर र रोग अनुसार गरिने योग फरक हुने भएकाले सुरुमा योग गर्दा प्रशिक्षकबाट सिकेर गर्नु प्रभावकारी हुन्छ।



लोकपाटी न्यूज

