काभ्रेमा राजधानी बनाउन प्रयत्न गरिरहेका छौं : मन्त्री दुलाल

Yubraj dulal
लाेकपाटी न्यूज

काभ्रेपलाञ्चोक, १४ माघ । प्रदेश नं.–३ का समाजिक विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयलाई शैक्षिक रुपमा बलियो बनाइने बताएका छन् ।

मण्डनदेउपुर नगरपालिका–११ तिमल्सिना गाउँस्थित चण्डेनी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव समारोहमा उनले भने, “प्रदेश सरकारले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयलाई बलियो बनाउन भौतिक पूर्वाधार, शैक्षिक तथा खेलकूद सामग्री, प्रयोगशाला, विद्यालयमा कार्यरत सहजकर्ताका लागि प्रोत्साहन भत्ता तथा शिक्षकलाई आवश्यक तालीमको ब्यवस्था गरिने छ ।”

मन्त्री दुलालले काभ्रेपलाञ्चोकमा प्रदेश नं ३ को राजधानी बनाउन पहल भइरहेको पनि जानकारी गराए । उनले भने, ‘प्रदेश राजधानी पायक पर्ने ठाउँमा हुनुपर्छ भनेर हामी निरन्तर लागिरहेका छौं । प्रदेशको राजधानी काभ्रेमा बनाउन हाम्रो प्रयास जारी छ ।’

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सामुदायिक विद्यालयले नतिजा राम्रो ल्याएर निजी विद्यालयमा जाने विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नगरभित्रका सामुदायिक विद्यालय, व्यवस्थापन समिति र शिक्षकलाई प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने बताए । गोरखापत्र संस्थानका कानूनी सल्लाहकार कुमार भट्टराईले विद्यालयको प्रगतिको कामना गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्