काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र केही मधेसी नेताहरूले फेरि मधेसी जनतालाई धोका दिइरहेको बताएका छन्। आफ्नो सर्त पुरा गर्न केही मधेसी नेताहरूले प्रधानमन्त्री ओलीलाई समर्थन गरेर मधेसमाथि धोखा दिने काम गरिरहेको बताए।
मधेसका १२ बुँदे माग उल्लेख गर्दै उनले स्वघोषित मधेसी नेताले मधेसका माग मध्ये कुन माग पुरा भएका हुन ? जवाफ दिनुपर्ने बताए। यादवले स्वार्थ पूर्तिका लागि मधेसी जनतालाई धोका नदिन आग्रह पनि गरे।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली मधेसका माग पुरा गर्न तयार बताएका छन्। जसअनुसार केही नेतामाथिको मुद्दा फिर्ता लिएको सो पक्षको दाबी छ। र बाँकी मुद्दा पुरा भए केपी शर्मा ओली पक्षलाई विश्वासको मत दिने संकेत गरेका छन्।
यसअघि प्रधानमन्त्री ओली वैशाख २७ गते विश्वासको मत दिला जसपाको ठाकुर र महतो पक्षले मतदान गरेको थिएन। उनीहरूले मधेसका माग पुरा नभएकोले आफूहरूले पक्ष वा विपक्षमा मतदान नगर्ने बताएका थिए। त्यस्तै ठाकुर र महतो पक्षले साथ नदिएपछि विपक्षी दलको गठबन्धनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न सकेन।
बहुमतको सरकार गठनका लागि दाबी नपरेपछि ओली ठुलो दलको हैसियतमा फेरि प्रधानमन्त्री बनेका छन्। उनले ३० दिन भित्र विश्वासको मत दिइसक्नु पर्छ। त्यो बेला ओलीलाई सहयोग गर्न सक्ने यो पक्षले संकेत गरेको छ। ठाकुर-महतो पक्षले ओलीले आफ्ना केही माग पुरा गरेको र बाँकी केही माग पुरा गरे ओली सरकारलाई विश्वासको मत दिने जनाएको छ।
तर जसपाको यादव र भट्टराई पक्षले भने ओलीले धोका दिइरहेको दाबी गरेको छ। मधेसका के माग पुरा भएका हुन भनी प्रश्न गर्दै अध्यक्ष यादवले झुटो नबोल्न पनि आग्रह गरे। उनले ओलीलाई समर्थन गरेका नेताहरूलाई झुटो मधेसीको संज्ञा पनि दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् :
मधेसका मूल माग र मुद्दाहरू के के हुन् ? केपी ओलीले के के पूरा गर्ने भए ?
१. आत्मनिर्णयको अधिकारका साथै स्वायत्त मधेस प्रदेश सहित पहिचानमा आधारित (१०+१ ) प्रदेशको स्थापना ।
२. समानुपातिक निर्वाचन प्रणाली ।
३. शासन- प्रशासन, न्यायपालिका, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिमा सामुदायिक / जातीय जनसङ्ख्याको आधारमा समानुपातिक समावेशीकरण ।
४.सरकारी कामकाजी भाषामा समान- बहुभाषिक नीति ।
५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।
६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको व्यवस्था ।
७. राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा र अवसरमा समान पहुँचको प्रत्याभूति ।
८. वर्ग, वर्ण, लिंग, जात / जातिका आधारमा हुने शोषण, उत्पीडन र विभेदको अन्त्य ।
९. नागरिकता समस्याको समाधान ।
१०. जल, जंगल र जमिनमाथिको अधिकार ।
११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरूको समाधान ।
१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेसम चौधरी लगायत सम्पूर्ण राजबन्दीहरूको रिहाइ ।
केपी ओलीले मधेसीहरूका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुटो बोली मधेसोहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पूर्ति गर्ने काम नहोस् ।




लोकपाटी न्यूज

