फेरि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ : उपेन्द्र यादव

Upendra Yadav
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति कोर्स करेक्सन नभएर थप गिजोलिएको प्रतिक्रिया दिएका छन्। खोप लगाउन संसद् भवन परिसर पुगेका यादवले केपी ओली फेरि प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चितता तर्फ धकेलिएको बताएका हुन्।

उनले आफूहरू मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए। ‘राजनीतिको कोर्स करेक्सन भएन। गिजोलियो। गिजोलिँदै जाँदाखेरि अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ,’ उनले भने, ‘राजनीतिलाई सही बाटोमा हिँडाउने प्रयास अझै जारी छ।’

यादवले भविष्यमा लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताए। उनले भने, ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धरापमा पर्ने कार्य हुँदै गएको छ। त्यसैले आउने दिनहरूमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ।’